Published June 4, 2026
Updated June 4, 2026By Share Gyan

माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ७२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता शेयर कर्मचारीहरुका लागि र ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार ८ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष ९ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।